कुकुरलाई पुलबाट नदीमा फाल्ने महिला पक्राउ
बझाङ,असोज १ । बझाङमा जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरेको छ।
जयपृथ्वी नगरपालिका–३ पडेसकी रोकायाले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई नदीमा फालेको प्रहरीले जनाएको छ।
करिब दुई सातादेखि बिरामी रहेको कुकुरको पछाडिको भाग पाकेर दुर्गन्ध आउने तथा बाटोमा हिँड्ने मानिसलाई टोक्न थालेपछि नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रोकायालाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

