मधेश प्रदेशमा अख्तियारका सबैभन्दा धेरै उजुरी



काठमाडौँ,असोज १ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सातवटै प्रदेश सरकारसँग सम्बन्धित ५ हजार ३०५ वटा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी मधेश प्रदेशसँग सम्बन्धित १ हजार ४७५ वटा उजुरी रहेका छन्, जुन कुल उजुरीको २७.८० प्रतिशत हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रदेशगत रूपमा सबैभन्दा कम उजुरी गण्डकी प्रदेशसँग सम्बन्धित छन्। गण्डकीका विभिन्न निकायविरुद्ध ४०७ वटा उजुरी दर्ता भएका छन्, जुन कुल उजुरीको ७.६७ प्रतिशत हो।

आयोगको वार्षिक प्रतिवेदनअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी बढी छन्। मधेश प्रदेशमा भने भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै रहेको आयोगले जनाएको छ।

भूमिसहित विभिन्न १० मन्त्रालय तथा क्षेत्रसँग सम्बन्धित उजुरीसमेत उल्लेख्य छन्। उजुरीमा सार्वजनिक स्रोतको दुरुपयोग, विकास निर्माण, सरकारी सेवा प्रवाह तथा प्रशासनिक कामकारबाहीमा भएका अनियमिततासम्बन्धी विषय समेटिएका छन्।

आयोगले प्रदेश सरकार तथा मातहतका निकायमा हुने कामकारबाहीसँग सम्बन्धित उजुरीलाई छानबिन तथा अनुसन्धानको प्रक्रियामा लैजाने जनाएको छ। चालु आर्थिक वर्षमा पनि प्रदेश तथा स्थानीय तहका सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीलाई निगरानीमा राखिने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्