बुढी पोल्ने पर्व मनाइयो



कंचनपुर,असोज १ — द्वापर युगका भगवान् श्रीकृष्णसँग सम्बन्धित राक्षसी पूतनाको प्रतीकका रूपमा तयार पारिएको प्रतिमा जलाएर यहाँका स्थानीयले बिहीबार ‘बुढी पोल्ने’ पर्व मनाएका छन्।

सुदूर पहाडी जिल्लाबाट बसाइँ सरी आएका स्थानीयले भदौ सङ्क्रान्तिदेखि सङ्कलन गरेका हाँगा, काठ, झ्याङलगायत सामग्रीबाट तयार पारेको ‘बुढी’लाई साँझ सामूहिक रूपमा दोबाटोमा लगेर जलाएका हुन्। बुढी जलाएपछि स्थानीयले काँक्रो खाँदै चारै दिशातर्फ ‘लुतो’ फाल्ने प्रचलनसमेत रहिआएको छ।

स्थानीय जनविश्वासमा ‘बुढी’लाई राक्षसी पूतनाको प्रतीक मानिन्छ।स्थानीय चन्द्रादेवी भट्टका अनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्न खोज्ने पूतनालाई भगवान् श्रीकृष्णले वध गरेको सम्झनामा यो पर्व मनाउने गरिएको हो।

संस्कृतिका जानकार लोकराज ओझाका अनुसार प्रत्येक वर्ष असोज १ गते मनाइने बुढी पोल्ने पर्व यहाँको मौलिक संस्कृति र परम्परासँग जोडिएको छ। यस पर्वले पशु चौपायामा रोगव्याधि नलाग्ने जनविश्वाससमेत रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार झ्याङलगायत सामग्रीबाट सिँगारिएको बुढीलाई बिहानै गोठबाट निकालेर दिनभर घाममा सुकाइन्छ। साँझ दोबाटोमा लगेर सामूहिक रूपमा जलाउने परम्परा छ। पूतनाको वधपछि सत्यको विजयको स्मरणस्वरूप यो पर्व मनाउन थालिएको स्थानीय किंवदन्ती छ।

प्रतिक्रिया दिनुहोस्