भारतमा १० माओवादी विद्रोहीलाई मृत्युदण्डको फैसला
एजेन्सी,असोज १ — भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका नेता तथा सुरक्षाकर्मीसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार दोषी ठहर भएका उनीहरूलाई राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउनेलगायतका विभिन्न अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइएको हो। सन् २०१३ मेमा मध्यभारतको छत्तीसगढ राज्यको दुर्गम वन क्षेत्रमा कङ्ग्रेस पार्टीको राज्य नेतृत्वलाई लक्षित गरी आक्रमण भएको थियो।
आक्रमणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाइएको र मानिसको समूहमा ग्रेनेड प्रहार गरिएको अनुसन्धान एजेन्सीले जनाएको छ। अनुसन्धानबाट १० जना माओवादी कार्यकर्ता वरिष्ठ कङ्ग्रेस नेता तथा सुरक्षाकर्मीमाथि आक्रमण र हत्याको आपराधिक षड्यन्त्रमा संलग्न रहेको पुष्टि भएको एजेन्सीको दाबी छ।
भारतमा सन् १९६० को दशकदेखि सुरु भएको माओवादी विद्रोह करिब छ दशकसम्म चलेको थियो। उक्त द्वन्द्वमा १२ हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइन्छ। भारतका एक पूर्वप्रधानमन्त्रीले समेत माओवादी विद्रोहलाई देशले सामना गरेको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा खतरामध्ये एकका रूपमा वर्णन गर्नुभएको थियो।
सरकारले ‘रेड कोरिडोर’ भनिने माओवादी प्रभावित क्षेत्रमा निरन्तर सैन्य कारबाही गरेपछि विद्रोह प्रभावकारी रूपमा कमजोर बनेको जनाएको छ। माओवादी विद्रोहीले सरकारलाई विस्थापित गरी समानान्तर प्रशासन स्थापना गर्ने प्रयास गर्दै आएका थिए।
भारतमा पछिल्लो पटक सन् २०२० मार्चमा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो। सन् २०१२ मा दिल्लीमा बसभित्र एक महिलामाथि सामूहिक बलात्कारपछि हत्या गरेको घटनामा दोषी ठहर चार जनालाई त्यसबेला फाँसी दिइएको थियो।

