बाढीले बगाएर ल्याएको शवबाट गहना लुट्ने नुवाकोटका पाँच युवक धरौटीमा छुटे
नुवाकोट,असोज २ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले बगाएर नुवाकोट ल्याएको महिलाको शवबाट गहना लुटेको आरोपमा पक्राउ परेका पाँच युवक धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना लुटेको अभियोगमा विदुर नगरपालिका–३ का पाँच युवकलाई पक्राउ गरी चोरीसम्बन्धी मुद्दा दायर गरिएको थियो।
पक्राउ परेकाहरूलाई नुवाकोट जिल्ला अदालतले बिहीबार जनही २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार उनीहरूविरुद्ध चोरीअन्तर्गत मुद्दा दायर गरिएको थियो।
प्रहरीले भदौ २३ गते उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको थियो। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्यादसमेत लिइएको प्रहरीले जनाएको छ।
वादी तथा प्रतिवादीको बयान र अधिवक्ताहरूको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयराम ढकालको इजलासले मुद्दा कायम रहने गरी प्रतिव्यक्ति २० हजार रुपैयाँ धरौटी लिएर हिरासतमुक्त गर्न आदेश दिएको हो।
स्थानीयवासीका अनुसार २६ देखि ३६ वर्ष उमेर समूहका ती युवकहरूले देवीघाटस्थित फिर्केपमा रातिको समयमा टर्चलाइट बालेर बाढीले बगाएर ल्याएको महिलाको शवबाट गहना निकाल्ने क्रममा औँलासमेत काटेको आरोप छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

