नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षले खोल्यो छुट्टै सम्पर्क कार्यालय



नुवाकोट,असोज २ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नुवाकोटमा संस्थापनइतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ। संस्थापनइतर पक्षले विदुर नगरपालिका–४ बट्टार बजारमा बिहीबार सम्पर्क कार्यालय स्थापना गरेको हो।

कांग्रेस जिल्ला सचिव तथा संस्थापनइतर पक्षका नेता श्रीराम श्रेष्ठका अनुसार महाधिवेशनको तयारीलाई लक्षित गर्दै कार्यालय स्थापना गरिएको हो। केन्द्रमा संस्थापन र संस्थापनइतर पक्षले फरक–फरक कार्यतालिका अघि सारेपछि नुवाकोटमा पनि दुवै पक्षले आ–आफ्नो तयारी अघि बढाएका छन्।

संस्थापनइतर पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ भने संस्थापन पक्षले असोज ३ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। यद्यपि, नुवाकोटमा वडा अधिवेशनको मिति भने अझै निश्चित भइनसकेको कांग्रेस नेताहरूले बताएका छन्।

केन्द्रमा दुई पक्षबीच फरक कार्यतालिका सार्वजनिक भएसँगै जिल्लामा पनि अधिवेशन केन्द्रित गतिविधि बढेको हो। नुवाकोटमा संस्थापनइतर पक्षको केन्द्रीय नेतृत्वमा डा. प्रकाशशरण महत रहेका छन्। जिल्लामा क्षेत्र नं. २ मा ध्रुव अधिकारी, श्रीराम श्रेष्ठ र विन्दा अर्याल तथा क्षेत्र नं. १ मा अर्जुन न्यौपाने र ध्रुव श्रेष्ठलगायतका नेताहरू सक्रिय देखिएका छन्।

संस्थापनइतर पक्षका जिल्ला सचिव श्रेष्ठले नुवाकोटका जिल्ला तहका नेता तथा कार्यकर्ता असोज १५ गते हुने वडा अधिवेशनमा सहभागी हुने बताउनुभयो। सम्पर्क कार्यालय स्थापनासँगै वडा तहसम्म संगठनात्मक गतिविधि विस्तार गर्नुका साथै अधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्