बाढीले सडक–पुल ध्वस्त पारेपछि नुवाकोटमा वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता



विदुर, असोज २ — लेन्देखोलाबाट भोटेकोशी हुँदै रसुवागढीबाट त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले नुवाकोटका सडक, पुललगायतका संरचनामा ठूलो क्षति पुर्‍याएपछि वैकल्पिक सडक मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ।

बाढीका कारण मुख्य सडक सञ्जाल प्रभावित भएपछि प्रयोगमा ल्याइएका वैकल्पिक सडकलाई थप व्यवस्थित र भरपर्दो बनाउन विदुर नगरपालिकाले स्तरोन्नतिसहित दुई लेनको सडक निर्माण गर्न सडक बोर्ड नेपाल र सडक डिभिजन कार्यालय नुवाकोटलाई सिफारिस गरेको छ। वैकल्पिक मार्ग निर्माणका लागि प्रस्ताव माग भएअनुसार नगरपालिकाले विदुर नगरपालिका–३ स्थित छत्रेखोला–सिर्खाली–रणभुवनेश्वरी मावि–मान्द्रेढुङ्गा–गौरीबेशी–कालीखोला–माझीगाउँ–कोलानी–आगापुटार–तुप्चे–भित्रिनीटार–सिस्नेचौर हुँदै किस्पाङको च्याम्पेश्वर जोड्ने सडकलाई दुई लेनको कालोपत्रेसहित वैकल्पिक सडकका रूपमा स्तरोन्नति गर्न सिफारिस गरेको हो।

यसैबीच, नुवाकोटबाट छिमेकी जिल्ला रसुवा जोड्ने छोटो वैकल्पिक सडक मार्ग निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ। बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा सामान ढुवानीमा समस्या भइरहेको अवस्थामा रसुवालाई सडक सञ्जालसँग जोड्ने वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो।

भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी–बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ। सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको जनाइएको छ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट–रसुवा जोड्ने छोटो वैकल्पिक सडक मार्ग सञ्चालनमा आउनेछ। सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेका अनुसार फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ।

यता, विदुर नगरपालिका र किस्पाङ गाउँपालिका जोड्ने सलाखु खोलाको पुलमा बाढीले क्षति पुर्‍याएपछि तीन सातादेखि आवागमन प्रभावित भएको छ। बाढीले पुलमा ठूलो क्षति पुर्‍याएपछि अहिले अस्थायी रूपमा मर्मतको काम भइरहेको छ। पुल क्षतिग्रस्त हुँदा स्थानीयको दैनिक आवतजावतसँगै सामान ढुवानीमा समेत समस्या हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्