बाढीले कार्यालय बगाएपछि नुवाकोटमा सरकारी सेवा पुनः सुचारु, कोही भाडामा त कोही छिमेकी कार्यालयको शरणमा



विदुर,असोज २ – नेपाल–चीन सीमावर्ती लेन्देखोलाबाट भोटेकोशी नदी हुँदै रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका विभिन्न सरकारी कार्यालयका भवन तथा संरचना बगाएपछि प्रभावित कार्यालयहरूले सेवा पुनः सुचारु गरेका छन्। अधिकांश कार्यालयले बाढी आएको तीन सातापछि वैकल्पिक स्थानबाट सेवा दिन थालेका हुन्।

गत भदौ १० गते बिहान आएको प्रलयकारी बाढीले विदुर नगरपालिका–१ ढुंगे बजारलाई पूर्णरूपमा बगरमा परिणत गरिदिएको थियो। बाढीले ढुंगे बजारमा रहेका कृषि विकास बैंकको त्रिशूली शाखा, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, बागवानी विकास कार्यालय, विदुर नगरपालिका–१ नम्बर वडा कार्यालय, पुरानो जिल्ला कारागार भवन, पशु सेवा कार्यालय तथा कर्मचारी आवासमा क्षति पुर्‍याएको थियो। यस्तै, सिँचाइ विकास डिभिजन कार्यालय र यान्त्रिक कार्यालयसमेत बाढीबाट प्रभावित भएका थिए।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीबाट जिल्लाका १४ वटा सरकारी कार्यालयमा पूर्ण र दुईवटा कार्यालयमा आंशिक क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् आयोजना तथा त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका कार्यालय तथा संरचनासमेत बाढीबाट ध्वस्त भएका छन्।

बाढीले कार्यालय भवन बगाएपछि कृषि विकास बैंकको त्रिशूली शाखा विदुर नगरपालिका–४ बट्टारस्थित भाडाको घरमा सरेर सेवा सञ्चालनमा आएको छ। शाखा प्रबन्धक उपेन्द्र भट्टका अनुसार अस्थायी स्थानबाट बैंकिङ सेवा नियमित गर्ने प्रयास भइरहेको छ।विदुर नगरपालिका–१ नम्बर वडा कार्यालयले करिब डेढ किलोमिटर माथि विदुर नगरपालिका–२ नम्बर वडा कार्यालयको भवनबाट सेवा दिन थालेको छ। बाढीबाट त्रिशूली र ढुंगे बजार क्षेत्र प्रभावित भएकाले वडा कार्यालयले सेवा सञ्चालनसँगै क्षतिको तथ्याङ्क सङ्कलन, राहत तथा उद्धारका कामलाई समेत प्राथमिकतामा राखेको वडाध्यक्ष लेनिन रञ्जितले बताए।

सिँचाइ विकास डिभिजन कार्यालयले विदुरस्थित खानेपानी डिभिजन कार्यालयको एउटा कोठाबाट सेवा सुचारु गरेको छ।कार्यालय सञ्चालनका लागि छुट्टै भाडाको घर खोजी भइरहेको कार्यालय प्रमुख अमृतकुमार दाहालले बताए।

कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले छिमेकी पशु सेवा कार्यालयको भवनबाट कामकाज सञ्चालन गरेका छन्। बागवानी विकास कार्यालयले भने करिब एक किलोमिटर माथि विदुरमा रहेको आफ्नै क्वार्टरबाट सेवा दिइरहेको छ। यान्त्रिक कार्यालयको नयाँ भवन सुरक्षित रहेकाले त्यहीँबाट सेवा सञ्चालन गरिएको छ। तर कार्यालयका मेसिन तथा उपकरण राखिएको गोदाम भने बाढीले बगरमा परिणत गरिदिएको छ।

कृषि विकास कार्यालयका प्रमुख श्रीकृष्ण अधिकारीले जसरी भए पनि जनतालाई सेवा दिनुपर्ने भएकाले वैकल्पिक स्थानबाट काम सञ्चालन गरिएको बताए। खेतीपातीको मौसम भएकाले कृषिसम्बन्धी सेवा प्रभावित हुन नदिन छिमेकी कार्यालयमा बसेर भए पनि सेवा दिइरहेको उनले बताए।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायले बाढीबाट क्षतिग्रस्त सडक मर्मत, पुल बगेका स्थानमा अस्थायी संरचना निर्माण र आवतजावत सहज बनाउने कार्यलाई प्राथमिकता दिएका छन्। बाढीपछिको पहिलो चरणको उद्धार तथा राहत कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्