काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो



काभ्रे,असोज २ । काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार बनेपा र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी १३/१३ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै तीन जना नयाँ सङ्क्रमित थपिएका छन्। तीमध्ये पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका एक/एक जना रहेका छन्।

धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा भने हालसम्म डेङ्गु सङ्क्रमित फेला नपरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो।

अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। मनसुनका समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण थप फैलिन नदिन सचेतना तथा सरसफाइ अभियानलाई प्राथमिकता दिइएको श्रेष्ठले बताउनुभयो।

जनस्वास्थ्य कार्यालयले डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घरआँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन आग्रह गरेको छ। ज्वरो आउने, टाउको तथा शरीर दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन पनि कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्