कोरिया–नेपाल सहकार्य विस्तारमा जोड, बाढी प्रभावितलाई सहयोग निरन्तर रहने राजदूत पार्कको प्रतिबद्धता
काठमाडौँ,असोज २ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मन्त्री तिमिल्सिनाको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायता र सूचना प्रविधि, डिजिटल अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले भोटेकोशी बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गर्नुभयो । उहाँले उद्धार तथा खोजीका लागि कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा धन्यवाद दिँदै बाढी प्रभावितका लागि सहयोग, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिनुभयो । राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे समेत चासो व्यक्त गर्नुभयो ।
राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।
भेटमा राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने १२औँ विश्व सूचना तथा सञ्चार प्रविधि नेतृत्व मञ्चमा नेपालसहित विभिन्न देशबाट हुने सहभागिताबारे पनि जानकारी गराउनुभयो ।
दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय सूचना समाज एजेन्सीको संयोजनमा हुने उक्त मञ्चमा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य तथा आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने बताइएको छ ।

