१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा
काठमाडौँ,असोज २ । सरकारले विभिन्न १३ राष्ट्रका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायतलगायत १३ राष्ट्रका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
मन्त्री पोखरेलका अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा र बेलायतका लागि गौरवशम्शेर जबरा सिफारिस हुनुभएको छ।
यस्तै जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।
मन्त्रिपरिषद्बाट सिफारिस भएका नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने कानुनी व्यवस्था छ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।त्यस्तै सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

