अपर त्रिशूली–१ को सुरुङबाट १८ मजदुरको शव निकालियो



रसुवा,असोज २ । भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ। खोज तथा उद्धारका क्रममा आज सुरुङभित्रबाट १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो।

आयोजनाको ९ दशमलव ८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र शव फेला परेको अपर त्रिशूली–१ का सामाजिक विज्ञ हर्क तामाङले बताउनुभयो। नेपाली सेना र जलविद्युत् आयोजनाका कर्मचारीको टोलीले सुरुङभित्र खोज तथा उद्धार गरिरहेको उहाँले जानकारी दिनुभयो।

यसअघि बिहीबार पनि सोही क्षेत्रमा छ जना मजदुरको शव फेला परेको प्रहरी प्रमुख थापाले बताउनुभयो। त्यसपछि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदा थप १८ जनाको शव फेला परेको हो।

बाढी आएको समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्यसमेत बाँकी रहेको प्रहरीको भनाइ छ। निर्माता कम्पनीले कुन–कुन नामका र कति कामदार सुरुङभित्र पठाएको भन्ने व्यवस्थित तथ्याङ्क नराखेका कारण शव पहिचानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा सम्पर्कविहीन मजदुरको खोजी तथा उद्धार कार्य जारी राखिएको थियो। सुरुङभित्रबाट लगातार शव फेला पर्न थालेपछि मृतकका आफन्त तथा आयोजनासँग सम्बन्धित पक्ष शोकमा डुबेका छन्।

दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो। बाढीपछि सुरुङभित्र बेपत्ता मजदुरको अवस्था पत्ता लगाउन नेपाली सेना, प्रहरी तथा आयोजनाका कर्मचारीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्