वेत्रावतीमा पनि थालियो बेलीब्रिज निर्माण कार्य
नुवाकोट,असोज ३ । रसुवा र नुवाकोटको सीमास्थित वेत्रावतीमा बाढीले दुई वटा पक्की पुल बगाएपछि ठप्प भएको आवतजावत पुनः सञ्चालन गर्न बेलीब्रिज निर्माण सुरु गरिएको छ।
लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएको अकल्पनीय बाढीले त्रिदेशीय मार्गअन्तर्गत वेत्रावतीका पुलहरू बगाएपछि राहत, उद्धार तथा पुनःस्थापनाको कामसमेत प्रभावित हुँदै आएको छ।
यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने उद्देश्यले शुक्रवारदेखि वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माणका लागि फाउन्डेसन निर्माण सुरु गरिएको हो। सरकारले उक्त स्थानमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना तयार गर्न निर्देशन दिएपछि सडक डिभिजन कार्यालय नुवाकोटले फाउन्डेसन निर्माणको काम अघि बढाएको हो।
स्थानीय युवा दिलकृष्ण श्रेष्ठका अनुसार बढीमा तीन साताभित्र फलाखु खोलामा बेलीब्रिज निर्माण सम्पन्न गर्ने तयारी छ। उनका अनुसार सुरुमा सडक डिभिजन नुवाकोटले पुलको फाउन्डेसन निर्माण गर्नेछ भने त्यसपछि नेपाली सेनाको प्राविधिक टोलीले करिब ७० मिटर लामो बेलीब्रिज जडान गर्नेछ।
बाढी गएको तीन साता बितिसक्दा पनि नुवाकोट र रसुवाको वेत्रावती क्षेत्रमा वैकल्पिक संरचना निर्माण नहुँदा आवतजावत प्रभावित हुँदै आएको छ। पुल नहुँदा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन, उद्धार गर्न तथा विस्थापित नागरिकको आवतजावत सहज बनाउन समस्या भइरहेको छ।
यसैबीच विदुर नगरपालिकाले पनि बाढी प्रभावित क्षेत्रलाई सडक सञ्जालमा जोड्न अर्को बेलीब्रिज निर्माणको तयारी गरेको छ।विदुर नगरपालिका–४ सिमचौर र वडा नम्बर १२ गौरीबेँसी जोड्ने गरी बेलीब्रिज निर्माणका लागि नगरपालिकाले नेपाली सेनाको जंगी अड्डा, भद्रकालीलाई पत्राचार गर्दै आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्र, पुल तथा सडक पूर्वाधारमा ठूलो क्षति पुगेकाले प्रभावित नागरिकको आवतजावत तथा राहत–उद्धारमा सहजता ल्याउन बेलीब्रिज निर्माण गर्न लागिएको जानकारी दिए। स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार पुल निर्माणको प्रक्रिया अघि बढाइएको उनले बताए।
नगरपालिकाले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको विस्तृत अध्ययन गरी पुनःस्थापना तथा पुनर्निर्माणको योजना पनि अघि बढाइरहेको जनाएको छ। भोटेकोशी बाढीका कारण विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा समेत मानवीय तथा भौतिक क्षति पुगेको छ।

