प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी १५६ जनाबाट दुई करोड ५० लाख ठगी, दुई जना पक्राउ
काठमाडौँ,असोज ३ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै १५६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी रहेका छन्। उनीहरूले सन् २०२४ मा इजरायलमा वैदेशिक रोजगारीका लागि भएको परीक्षामा सहभागी भएर छनोटमा नपरेका व्यक्तिहरूलाई इजरायल पठाइदिने भन्दै रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।सोही आधारमा १५६ जनाबाट करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप उनीहरूमाथि छ।
पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

