कांग्रेसको वडा अधिवेशन आज र भोलि, उत्साहपूर्वक सहभागी हुन आह्वान
काठमाडौँ,असोज ३ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आज र भोलि हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा तहको निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गते सञ्चालन हुन लागेको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले हिजो विज्ञप्ति जारी गर्दै वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्य प्रारम्भ गरिसकेको जानकारी दिनुभएको छ।
विज्ञप्तिअनुसार जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तह तथा स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गरिसकेका छन्। साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायत आवश्यक तयारीसमेत पूरा गरिएको समितिले जनाएको छ।
समितिले कुनै पनि अफवाह तथा भ्रामक कुराको पछि नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोध गरेको छ। निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भई वडा अधिवेशन सफल बनाउन समितिले आग्रह गरेको हो।

