आज संविधान दिवस मनाइँदै
काठमाडौँ,असोज ३ । आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदै छ । जनताले निर्वाचनमार्फत चुनेका आफ्ना प्रतिनिधिबाट संविधान निर्माण गरी जारी भएको आज ११ वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ गते संविधानसभामा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको हो । संविधानसभाको निर्वाचनमार्फत जनताले चुनेका प्रतिनिधिले लामो बहस र छलफलपछि संविधान तयार गरी जारी गरेकाले संविधान दिवसको विशेष महत्व रहेको छ ।
नयाँ संविधानले नेपालको शासकीय संरचनामा जातीय, क्षेत्रीय तथा लैङ्गिक समावेशीकरणलाई सुनिश्चित गर्नुका साथै मुलुकको शासन प्रणालीलाई सङ्घीय प्रणालीका रूपमा स्थापित गरेको छ ।संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ ।
संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम, शुभकामना आदानप्रदान तथा संविधानको कार्यान्वयन र संरक्षणसम्बन्धी कार्यक्रम आयोजना भइरहेका छन् ।

