छहरे-टोखा सडक खण्डमा राहत सामग्री बोकेको एम्बुलेन्स दुर्घटना
नुवाकोटअसोज ३ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा राहत सामग्री र औषधि बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ।
छहरे–टोखा सडकखण्डअन्तर्गत बोहोरे खोलाको बालुवा खानी नजिक रसुवा बाढी प्रभावितका लागि राहत सामग्री तथा औषधि बोकेर आएको बा १५ च ३९६ नम्बरको एम्बुलेन्स शनिबार बिहान दुर्घटनामा परेको हो।
पिपलटार होल्डिङ स्टेसनतर्फ जाँदै गरेको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको हुनसक्ने स्थानीयले बताएका छन्। दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा एम्बुलेन्समा भएको क्षतिको विवरण भने आउन बाँकी छ।
दुर्घटनापछि स्थानीय तथा सुरक्षाकर्मीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।

