विराटनगरमा संविधान दिवसको अवसरमा प्रभातफेरी



विराटनगर,असोज ३ । विराटनगरमा संविधान दिवस–२०८३ को अवसरमा आज बिहान बाजागाजा र झाँकीसहित प्रभातफेरी निकालिएको छ। संविधान दिवस मूल समारोह समिति, कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित आदर्श विद्यालय अगाडिबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

प्रभातफेरीमा कोशी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, सङ्घीय सांसद, उद्योगी–व्यवसायी, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नगरका विभिन्न भागको परिक्रमा गरेपछि प्रभातफेरी सहिद मैदानमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण पालना गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो। लामो सङ्घर्षपछि जारी भएको नेपालको संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्वका लागि समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै आपसी सद्भाव तथा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो। नेपालको संविधानले सबै जातजाति र समुदायका हकअधिकार स्थापित गरेकाले यसको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।

नयाँ संविधान कार्यान्वयनमा आएपछि सङ्घीयता र प्रदेश सरकार स्थापना भएसँगै मुलुक समृद्धिको दिशातर्फ अघि बढेको उहाँले बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सबै जातजाति, समुदाय तथा नेपाली जनताले संविधानका उपलब्धि प्राप्त गर्न सकेमा मात्रै संविधान दिगो बन्ने बताउनुभयो।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख, उपसभामुख तथा मन्त्रीहरूको समेत सहभागिता थियो। कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ। सोही अवसरमा हिजोदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् भने विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्