संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री शाह



काठमाडौँ,असोज ३। प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले शहीदको रगतले लेखिएको संविधानलाई सरकारको कामबाट पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रधानमन्त्री शाहले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानले परिकल्पना गरेको उपलब्धि हासिल गर्ने दिन आफैँले ल्याउनुपर्ने बताउनुभयो। इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने सेवामार्फत संविधानको मर्म कार्यान्वयन गरिने उहाँको भनाइ थियो। जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम त्यही आकाङ्क्षा पूरा गर्ने दिशामा केन्द्रित रहेको बताउनुभयो। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य सरकारका लागि सर्त मात्र नभई राष्ट्रिय जीवनका आधार भएको उहाँले उल्लेख गर्नुभयो।

संविधानले विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्ने वाचा गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय हुन नसके कागजमा सीमित हुने उहाँको भनाइ थियो।

प्रधानमन्त्री शाहले सुशासन कायम गर्ने काम सुरु भएको उल्लेख गर्दै भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै उहाँले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरिएको जानकारी दिनुभयो।
सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले सुशासन नारा नभई काम भएको र सरकार त्यसका लागि काम गरिरहेको दाबी गर्नुभयो।

प्रधानमन्त्री शाहले पुरानै बाटोमा मात्र अघि नबढी कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगसँगै अघि बढाउँदै नवप्रवर्तन र नवउद्यमलाई प्राथमिकता दिएर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताउनुभयो। डिजिटल सुशासन कार्ययोजनाअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसको आधार भएको उल्लेख गर्दै उहाँले युवाले सडकमा मागेको सुशासन प्रविधिको माध्यमबाट पनि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय रहेको बताउँदै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा उद्धारमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, सङ्घसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गर्नुभयो। नेपाल विपद्को उच्च जोखिममा रहेको मुलुक भएकाले विपद् आएपछि मात्र नभई आउनुअघि नै जोखिम न्यूनीकरण र पूर्वतयारीमा जोड दिनुपर्ने उहाँले बताउनुभयो। विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उहाँको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थामा परिवर्तन तथा सुशासनको माग गर्दै भएका आन्दोलनमा ज्यान आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीद तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने सुशासन योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्