प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटकी सदिक्षा भण्डारी द्वितीय
नुवाकोट,असोज ३ । बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटकी छात्रा सदिक्षा भण्डारी द्वितीय हुनुभएको छ। शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले संविधान दिवसका अवसरमा आयोजना गरेको ‘संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा श्री जनज्ञान निकेतन माध्यमिक विद्यालय, शिवपुरी -८ नुवाकोटकी छात्रा भण्डारी द्वितीय हुनुभएको हो।
निर्देशनालयले २०८३ भदौ ३० गते प्रकाशित गरेको सूचनाका आधारमा सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न विद्यालयबाट १५६ वटा निबन्ध प्राप्त भएका थिए। तीमध्ये मूल्याङ्कनका आधारमा काठमाडौंको श्री रत्नराज्य माध्यमिक विद्यालयकी अनुश्री रिजाल प्रथम, नुवाकोटकी सदिक्षा भण्डारी द्वितीय र रामेछापको श्री मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्की तृतीय हुनुभएको छ। रामेछापकै श्री शारदा संस्कृत माध्यमिक विद्यालयकी जेनिशा नेपालीले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ।
द्वितीय स्थान हासिल गरेकी भण्डारीलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कारबापत क्रमशः १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ।
पुरस्कार संविधान दिवसको अवसरमा शनिबार बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा वितरण गरिएको थियोे । भण्डारीको सफलताप्रति जनज्ञान निकेतन माध्यमिक विद्यालयले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ। विद्यालयले भण्डारीको सिर्जनात्मक क्षमता र बौद्धिक प्रतिभाले विद्यालयको गौरव बढाएको उल्लेख गर्दै उनको लेखन यात्राले अझ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

