भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको प्रतीकात्मक अन्त्येष्टि
काठमाडौं,असोज ३ । भोटेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरिएको छ ।
नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा २०४२ साल जेठ १४ गते जन्मनुभएका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिनुभयो ।
दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय रहनुभएका ४१ वर्षीय थामीले पत्रकारिताका माध्यमबाट पुर्याउनुभएको योगदानको अन्त्येष्टिमा सहभागीहरूले स्मरण गरे । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन र एबिसी टेलिभिजन हुँदै लामो समय नयाँ पत्रिका दैनिकमा काम गर्नुभएको थियो ।
उहाँले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण र लेखनमा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहनुभएका थामी नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य हुनुहुन्थ्यो ।उहाँ नेपाल थामी समाजका पूर्वउपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका पूर्वकोषाध्यक्षसमेत रहनुभएको थियो ।
चीनको स्वशासित क्षेत्र सिचाङको केरुङमा भदौ १० गते हुने ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुग्नुभएको थियो । त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको हो ।
पशुपति आर्यघाटमा गरिएको प्रतीकात्मक अन्त्येष्टिमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले थामीको कुशको शवमा महासङ्घको झण्डा ओढाउनुभएको थियो । नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
अन्त्येष्टिमा पूर्वमन्त्रीहरू पार्वत गुरुङ र आनन्द पोखरेल, राष्ट्रिय समाचार समिति र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक तथा कानुन क्षेत्रका अगुवा र थामीका सहकर्मीहरूको उपस्थिति थियो ।
स्वर्गीय थामी राष्ट्रिय समाचार समितिकी पत्रकार कालिका खड्काका श्रीमान् हुनुहुन्थ्यो ।

