ढुंगे–त्रिशूली बजार जोड्न ७० मिटरको बेलीब्रिज निर्माणको तयारी
नुवाकोट,असोज ३ । विदुर नगरपालिका–१ स्थित ढुंगे र त्रिशूली बजार जोड्ने गरी करिब ७० मिटर लामो बेलीब्रिज निर्माणका लागि विदुर नगरपालिकाले आवश्यक पहल अघि बढाएको छ।
नगरपालिकाका अनुसार बेलीब्रिज निर्माणका लागि यसअघि नै परामर्शदातामार्फत आवश्यक प्राविधिक अध्ययन गरी डिजाइनसमेत तयार भइसकेको छ। बेलीब्रिज उपलब्ध गराइदिन नगरपालिकाले सडक विभागलाई गरेको पत्राचारमा विभागबाट सकारात्मक जवाफ प्राप्त भएको छ।
त्यस्तै, पुल जडानका लागि नेपाली सेनासँग गरिएको आग्रहसमेत स्वीकार भएको नगरपालिकाले जनाएको छ। पुल जडानमा लाग्ने सम्पूर्ण खर्च भने विदुर नगरपालिकाले व्यहोर्ने भएको छ।
आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो ढुंगे–त्रिशूली बजार जोड्ने मोटरेबल पुल निर्माण गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।बेलीब्रिज जडानका लागि आवश्यक थप प्राविधिक जानकारी तथा स्थलगत अवस्थाबारे शनिबार नगर प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली सेनाका जर्नेल सुवासजंग थापा, उपप्रमुख प्रभा बोगटी, सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा, विभिन्न वडाका अध्यक्ष तथा प्राविधिक टोलीले स्थलगत अवलोकन गरेका छन्।
भोटेकोशी बाढीपछि ढुंगे–त्रिशूली बजारबीचको आवागमनमा समस्या भइरहेका बेला बेलीब्रिज निर्माण भएपछि स्थानीयवासी तथा सर्वसाधारणलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। नगरपालिकाले पुल निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

