नुवाकोटमा बाढीले पुरिएको सहकारीको सेफबाट भेटियो १४ लाख १४ हजार रुपैयाँ
नुवाकोट,असोज ३ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको बाढीले क्षतिग्रस्त भवनभित्र पुरिएको सेफबाट १४ लाख १४ हजार ९५१ रुपैयाँ सुरक्षित रूपमा फेला परेको छ ।
भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीले सहकारीको दुईतले भवन पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । भवन भग्नावशेषमा पुरिएपछि सेफभित्र रहेको रकमसमेत त्यहीँ दबिएको थियो ।
नेकपा माओवादी केन्द्र नुवाकोटका विभिन्न नेता तथा कार्यकर्ताको सक्रियतामा भग्नावशेष हटाउने क्रममा सेफ फेला परेको हो । सेफ सुरक्षित रहेकाले त्यसमा राखिएको रकमसमेत जोगिएको बताइएको छ ।
फेला परेको १४ लाख १४ हजार ९५१ रुपैयाँ सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । बाढीका कारण त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको भवन, कार्यालयमा रहेका कम्प्युटर, कागजातलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले भवन र कार्यालयसहित करिब दुई करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको छ ।
भदौ १० गतेको बाढीबाट नुवाकोटका अन्य नौवटा सहकारी संस्थासमेत प्रभावित भएका छन् । बाढीले सहकारी क्षेत्रका भौतिक संरचना, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीमा क्षति पुगेको जनाइएको छ ।
विदुर नगरपालिका क्षेत्रमा मात्रै दुई सयभन्दा बढी सहकारी संस्था सञ्चालनमा रहेको बताइएको छ । बाढीबाट भएको क्षतिले सहकारी संस्थाको नियमित सेवा प्रवाहमा समेत असर परेको छ ।

