सुनसरीमा गोली चल्दा १९ वर्षीय युवक घाइते
सुनसरी,असोज ३ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको आशंका गरिएको घटना भएको छ। घटनामा स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्।
लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा यादवको तिघ्रामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न केही व्यक्ति भने फरार छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार घाइतेको अवस्था हेर्दा गोली लागेको जस्तो देखिए पनि गोली नै चलेको हो भन्ने विषयमा पुष्टि भइसकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।
गोली कसले र के कारणले चलाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

