नुवाकोटमा बाढीपीडितका लागि तीन सातामा ४७७ संस्थाबाट राहत, पुल नहुँदा पश्चिमी क्षेत्रमा ढुवानीमा समस्या



नुवाकोट,असोज ४ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि राहत तथा उद्धार कार्य जारी छ। बाढी प्रभावितका लागि तीन साताको अवधिमा विभिन्न संघ–संस्थामार्फत राहत संकलन तथा वितरण भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नुवाकोटका विभिन्न स्थानमा राहत उपलब्ध गराउन ४ सय ७७ वटा संघ–संस्थामार्फत सहयोग प्राप्त भएको छ। राहतमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा नगदसहितका सामग्री वितरण गरिएको छ।

गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधि सम्मिलित संयन्त्रमार्फत एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए। उनका अनुसार जिल्ला समन्वय समितिको हल, मैथली ब्यारेक र विदुर नगरपालिकाको कार्यालयबाट राहत सामग्री संकलन तथा वितरणको व्यवस्था मिलाइएको छ।

प्रशासनका अनुसार हालसम्म जिल्लाका १ हजार ९० स्थानमा राहत वितरण गरिएको छ। त्रिशूली नदीमाथिका धेरै पुल बाढीले बगाएपछि नदीपारि पश्चिमी क्षेत्रमा राहत सामग्री पुर्‍याउन भने कठिनाइ भएको छ। पुल नहुँदा घुमाउरो बाटो तथा वैकल्पिक मार्ग प्रयोग गरेर राहत सामग्री लैजानुपर्ने बाध्यता रहेको प्रशासनले जनाएको छ।

राहत तथा उद्धारका लागि जिल्लामा १४ वटा वैकल्पिक सडक मार्ग प्रयोगमा ल्याइएको छ। बाढी प्रभावित क्षेत्रमा पहुँच सहज बनाउन उपलब्ध सडक तथा अन्य वैकल्पिक मार्ग प्रयोग गरेर राहत सामग्री पुर्‍याउने काम भइरहेको प्रशासनले जनाएको छ।

यसैबीच विदुर नगरपालिकाका त्रिशूली बजार र कोलोनी क्षेत्रका बाढी प्रभावितलाई भान्छाका सामग्री वितरण गरिएको छ। स्थानीय ३ सय घरपरिवारलाई ग्याससहितको सिलिन्डर र किचन सेट उपलब्ध गराइएको हो।

यता, नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले विभिन्न आश्रित केन्द्रमा रहेका बाढीपीडितलाई लत्ताकपडालगायत राहत सामग्री उपलब्ध गराएको छ। आश्रित केन्द्रमै पुगेर ओछ्यान, सिरक, सिरानी, ब्ल्याङ्केट, जुत्ताचप्पल, टिसर्ट, ट्र्याकसुट, कुर्तासुरुवाल र प्यान्टलगायतका सामग्री वितरण गरिएको हो।

बाढीमा ज्यान गुमाएका ३० श्रमिक परिवारलाई अखिल नेपाल ट्रेड युनियन महासंघले पनि राहत सामग्री प्रदान गरेको छ। महासंघले पहिलो चरणको राहतस्वरूप बाढीबाट ज्यान गुमाएका श्रमिकका ३० परिवारलाई किचन सेट वितरण गरेको जनाएको छ। बाढी प्रभावित तथा पीडित परिवारलाई निरन्तर सहयोग गर्दै आएको महासंघले आगामी दिनमा पनि राहत तथा सहयोगलाई निरन्तरता दिने जनाएको छ। साथै थप राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्