कांग्रेसको वडा अधिवेशन ४३ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न



काठमाडौं,असोज ४ । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भई निर्वाचनसमेत भएको छ। ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा आज असोज ४ गते पनि वडा अधिवेशन निरन्तर जारी रहने कटुवालले जानकारी दिए। आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि कांग्रेसले चरणबद्ध रूपमा अधिवेशन प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्