कोरला नाकाबाट पहिलोपटक ४१९ भेडा च्याङ्ग्रा नेपाल भित्रिए



मुस्ताङ,असोज ४ । मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक कानुनी प्रक्रिया पूरा गरेर भेडा च्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। लोमान्थाङ–४ न्हेचुङस्थित पशु क्वारेन्टाइन चेकपोस्टका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनमा चार लट गरी ४१९ वटा भेडा च्याङ्ग्रा नेपाल भित्रिएका हुन्।

पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीका अनुसार भदौ ३१ गते १५५ वटा च्याङ्ग्रा, असोज १ गते ११८ वटा च्याङ्ग्रा र ४६ वटा भेडा तथा असोज २ गते थप १०० वटा च्याङ्ग्रा कोरला नाकाबाट नेपाल भित्रिएका हुन्। गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट तिब्बत हुँदै पहिलोपटक भेडा च्याङ्ग्रा नेपाल भित्र्याइएको हो।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरिएका भेडा च्याङ्ग्रा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनका लागि नेपाल ल्याएका हुन्। पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख केसीका अनुसार पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकामा पशु क्वारेन्टाइन कार्यालय सञ्चालनमा छन्।

क्वारेन्टाइनसम्बन्धी कानुनी व्यवस्थाअनुसार विदेशबाट पशु खरिद गरी नेपाल ल्याउनुअघि सम्बन्धित चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशुको निरोगिताको स्वास्थ्य प्रमाणपत्र तथा खोप लगाएको विवरण सात दिनअघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन पूर्वजानकारी गराएका थिए।

पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोपसम्बन्धी कागजातका आधारमा क्वारेन्टाइन चेकपोस्टले भेडा च्याङ्ग्रा नेपाल भित्र्याउन स्वीकृति दिएको हो। सीमावर्ती व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण नखुलेपछि लोमान्थाङ गाउँपालिकासँगको समन्वयमा नेपाल भित्रिएका भेडा च्याङ्ग्रालाई खोप लगाइएको डा. केसीले जानकारी दिए।

चीनबाट ल्याइएका भेडा च्याङ्ग्रालाई हाल लोमान्थाङस्थित न्याम्डो र छोसेरका चरन क्षेत्रमा स्थानीय भेडा च्याङ्ग्राको बथानसँग नमिसाइ छुट्टै राखिएको छ। क्वारेन्टाइनसम्बन्धी कानुनी व्यवस्थाअनुसार विदेशबाट ल्याइएका पशुचौपायालाई सात दिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने भएकाले क्वारेन्टाइन चेकपोस्टका पशु प्राविधिक र प्रहरीको निगरानीमा राखिएको हो।

दसैँ–तिहारजस्ता प्रमुख चाडपर्वमा हिमाली भेडा च्याङ्ग्राको माग उच्च हुने गर्छ। मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट समेत भेडा च्याङ्ग्रा विभिन्न बजारमा पुर्‍याइन्छ। मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा भेडा च्याङ्ग्रा पालन गर्दै आएका छन्।

यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडा च्याङ्ग्रा आयात सुरु भएपछि बजारमा आपूर्ति बढ्ने र मूल्य केही कम हुनसक्ने अपेक्षा गरिएको छ। यसैगरी, कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनसमेत नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा. केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्