चेस ओलम्पियाडमा नेपालका दुवै टोलीको सानदार जित, चार चरणमा चार अंक



एजेन्सी,असोज ४ । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोलीले सानदार जित दर्ता गरेका छन्। खुला टोलीले टिमोर–लेस्टेलाई ४–० ले तथा महिला टोलीले डोमिनिकन रिपब्लिकलाई ३–१ ले पराजित गरेका हुन्।

टिमोर–लेस्टेविरुद्ध नेपालका चारै खेलाडीले जित हात पारे। पहिलो बोर्डमा सीएम पुरुषोत्तम सिलवालले हेल्डर डि अराउजोलाई पराजित गरे। दोस्रो बोर्डमा एफएम रुपेश जैसवालले पिन्टो एन्ड्राडेलाई हराए। तेस्रो बोर्डमा सीएम सुश्रुत दाहालले पाउलो फर्नान्डेस डि कार्भालोलाई तथा चौथो बोर्डमा राजन सुवेदीले मारियो मेलो नासिमेन्टोलाई पराजित गरे।

यो जितसँगै खुला टोलीले चार चरणबाट चार अंक जोडेको छ।महिला टोलीले डोमिनिकन रिपब्लिकविरुद्ध ३–१ को जित निकाल्यो। पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका तीन खेलाडीले लगातार जित निकाल्दै टोलीलाई विजयी बनाए।

दोस्रो बोर्डमा कृतिसारा अधिकारीले डब्लूएफएम प्याट्रिसिया एभारिस्ता कास्टिलो पेनालाई पराजित गरिन्। तेस्रो बोर्डमा पूजा भण्डारीले डब्लूएफएम मेरी लोली गोन्जालेज पेगुएरोलाई हराइन्। चौथो बोर्डमा निहाना श्रेष्ठले पनि जित हात पारिन्।

डब्लूएफएम उपाधिप्राप्त खेलाडीविरुद्ध कृतिसारा र पूजाले हासिल गरेको जित महिला टोलीका लागि विशेष महत्त्वपूर्ण रह्यो। महिला टोलीले पनि चार चरणबाट चार अंक जोडेको छ।

नेपाल बुद्धिचाल महासंघले प्रतियोगिताअघि सञ्चालन गरेको बन्द प्रशिक्षण शिविर तथा तयारीको प्रभाव प्रतियोगितामा देखिएको जनाएको छ। खुला टोलीलाई कजाकिस्तानका प्रशिक्षक आईएम किरिल कुदेरिनोभ तथा महिला टोलीलाई सीएम राजेन्द्र राजभण्डारीले प्रशिक्षण दिएका थिए।

महासंघले प्रतियोगिताअघि पदक लक्ष्यसहित तयारी गरेको जनाएको थियो। चौथो चरणमा दुवै टोलीले हासिल गरेको जितले खेलाडीको आत्मविश्वास बढाएको महासंघका प्रवक्ता राजु ताम्राकारले बताए।

प्रतिक्रिया दिनुहोस्