नुवाकोटमा बाढीपीडितको प्रदर्शन, के के छन् माग?
विदुर,असोज ४ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा ठूलो धनजनको क्षति पुर्याएपछि प्रभावित क्षेत्रका बासिन्दाले अस्थायी पुल र आवासको माग गर्दै प्रदर्शन गरेका छन्।
बाढी आएको तीन साता बितिसक्दा पनि आवतजावत र बसोबासको समस्या समाधान नभएको भन्दै बाढी प्रभावित विदुर नगरपालिका–१ ढुङ्गे, त्रिशूली तथा नदीपारिका पश्चिमी क्षेत्रका बासिन्दाले शनिबार प्रदर्शन गरेका हुन्। बाढीले ढुङ्गे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल ध्वस्त पारेपछि स्थानीयले तत्काल अस्थायी पुल अर्थात् बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।
प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले बाढीबाट क्षति पुगेका तथा पुरिएका घरको तत्काल उत्खनन गर्नुपर्ने, ढुङ्गे र त्रिशूली जोड्ने गरी अस्थायी पुल निर्माण गर्नुपर्ने तथा त्रिशूली नदीपारिका बस्तीमा आवतजावत सहज बनाउनुपर्ने माग गरेका छन्।
प्रदर्शनमा सहभागी रविन श्रेष्ठका अनुसार बाढी प्रभावित परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने, राहत तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र जनताका समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार तथा जवाफदेही हुनुपर्ने माग राखिएको छ।
विदुर नगरपालिका–१ त्रिशूली र गुम्बाडाँडा क्षेत्रमा समेत बाढी प्रभावित तथा सरोकारवालाले ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। सहभागीहरूले बाढीपछि ढुङ्गे, त्रिशूलीलगायत नदीपारिका बस्तीका नागरिकले भोग्दै आएको आवतजावत, आवास तथा दैनिक जीवनयापनको समस्या लामो समयसम्म कायम राख्न नहुने बताएका छन्।
युवा राजकुमार तामाङले बाढी प्रभावितको समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायले काम अघि बढाउनुपर्ने बताए। उनका अनुसार बाढीले क्षति पुर्याएका तथा पुरिएका घरको उत्खनन, अस्थायी पुल निर्माण र नदीपारिका बस्तीका नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्छ।
स्थानीय सरोज श्रेष्ठले ढुङ्गे र त्रिशूली जोड्ने गरी तत्काल पुल निर्माण गर्नुपर्ने बताए। उनका अनुसार अस्पताल जाने बाटोमा समेत अस्थायी पुलको व्यवस्था गर्नुपर्ने अवस्था छ। प्रदर्शनकारीले ‘त्रिशूलीलाई दोस्रो कर्णाली बनाउन नहुने’ लगायतका माग लेखिएका प्लेकार्ड बोकेका थिए।
स्थानीयका अनुसार त्रिशूली नदीपारि जोड्ने अस्थायी पुल निर्माण भए राहत वितरण, पुनःस्थापना तथा नागरिकको दैनिक आवतजावतमा देखिएको समस्याको ठूलो हिस्सा समाधान हुनेछ।उनीहरूले बाढी प्रभावितका लागि अस्थायी आवासको व्यवस्था गर्न ढिलाइ नगर्न र समस्या समाधानमा सम्बन्धित निकायलाई जिम्मेवार तथा जवाफदेही भएर काम गर्न आग्रह गरेका छन्।

