बाढीको क्षति निरीक्षण गर्न नुवाकोट आइन् उपसभामुख ठाकुर, सुरक्षित आवास र पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता
विदुर, असोज ४ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेकी छन्। बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा पुनःस्थापना र पुनर्निर्माणका लागि भइरहेका प्रयासबारे जानकारी लिन उनी तीन सातापछि शनिबार नुवाकोट पुगेकी हुन्।
उपसभामुख ठाकुरले लेन्देखोला हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा आएको बाढीले नुवाकोटमा पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्दै स्थानीय तह, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग जानकारी लिइन्। उनले बाढी प्रभावित विभिन्न स्थानको अवलोकन गर्नुका साथै प्रभावित नागरिकका समस्या र तत्काल आवश्यक पहलका विषयमा छलफलसमेत गरिन्।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा सहभागी हुँदै उपसभामुख ठाकुरले बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनःउत्थानका विषयमा सम्बन्धित पक्षसँग छलफल गरिन्। बैठकमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकका तत्कालीन आवश्यकता तथा संघ, प्रदेश, स्थानीय तह र सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल भएको थियो।
उपसभामुख ठाकुरले विदुर नगरपालिका–१ स्थित इन्द्रायणीचौरमा बाढीपछि आवागमनका लागि राखिएको तुइनको समेत अवलोकन गरिन्। उनले उक्त स्थानमा स्थायी पुल निर्माणको सम्भावना र आवश्यक प्रक्रियाबारे पूर्वाधार विकास कार्यालयका प्राविधिकसँग जानकारी लिएकी छन्। बाढीका कारण प्रभावित नागरिकले भोग्दै आएको आवागमनको समस्या समाधानका लागि पुल निर्माणमा आवश्यक पहल गर्ने उनले प्रतिबद्धता जनाइन्।
उनले बाढी प्रभावित नागरिकका लागि सुरक्षित आवासको व्यवस्था गर्न सरकारसमक्ष आवश्यक पहल तथा जानकारी गराउने बताइन्। बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल सुरक्षित आवास, सहज आवागमन र आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने उनको भनाइ थियो।
उपसभामुख ठाकुरले बाढीले नुवाकोटको विकास संरचनामा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइन्। बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेकी उनले होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित नागरिकसँग भेट गरी उनीहरूका समस्या र आवश्यकताबारे समेत जानकारी लिइन्।
बैठकमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। उनीहरूले बाढीबाट भएको क्षति, प्रभावित नागरिकको समस्या तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक पहलका विषयमा उपसभामुख ठाकुरलाई जानकारी गराएका थिए।
बैठकले बाढी प्रभावित नागरिकको राहत, सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

