आज नुवाकोटका विभिन्न क्षेत्रमा चार घण्टा विद्युत सेवा अवरुद्ध हुने
नुवाकोट, असोज ४– नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रअन्तर्गत देवीघाट फिडरमा आज आइतबार विद्युत सेवा अवरुद्ध हुने भएको छ।
महाराजगन्ज वितरण केन्द्रअन्तर्गत हेपाली फिडरको भूमिगत तारमा खराबी आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म देवीघाट फिडरबाट विद्युत आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ।
विद्युत सेवा बन्द हुँदा विदुर नगरपालिका क्षेत्रका विदुर, ढुंगे, दम्की, बट्टार, बट्टार बसपार्क, हावाघर, गंगटे, इन्द्रायणी, खम्बालिक्याम्पलगायत आसपासका क्षेत्रमा प्रभाव पर्नेछ।
मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले क्षमायाचना गरेको छ।
तोकिएको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत सेवा तत्काल सञ्चालन गरिने केन्द्रले जनाएको छ।

