सुमो दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते



धनकुटा,असोज ४ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो।

दुर्घटनामा धनकुटा नगरपालिका–३ का २१ वर्षीय आशिष लिम्बुको टाउकोमा गम्भीर चोट लागेको छ। उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई, उहाँका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, सोही ठाउँकी ३३ वर्षीया पुनम लिम्बु र उहाँकी २ वर्षीया छोरी आरध्या लिम्बु घाइते भएका छन्।

त्यसैगरी धनकुटा नगरपालिका–४ का २६ वर्षीय आइन्द्र लिम्बु, वडा नं. ३ का २७ वर्षीय भवानी लिम्बु, सोही वडाका ४७ वर्षीय हेमबहादुर लिम्बु र वडा नं. ४ का ३० वर्षीय अबिन लिम्बु पनि घाइते भएका छन्।

घाइते सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको सुमोलाई सडकसम्म निकाल्ने पहल भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्