राजकीय सम्मानका साथ हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको अन्त्येष्टि



एजेन्सी,असोज ४ । हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सन् १९९७ मा बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण भएपछि सुरु भएको सङ्क्रमणकालीन चरणको नेतृत्व गर्नुभएका तुङको ८९ वर्षको उमेरमा यही सेप्टेम्बर ८ मा निधन भएको थियो।

सन् १९९७ देखि २००५ सम्म हङकङको प्रमुख कार्यकारी रहनुभएका तुङको अन्त्येष्टि समारोहमा चिनियाँ अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यहाँ आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो।

ढुवानी व्यवसायबाट राजनीतिमा आउनुभएका तुङले करिब आठ वर्षको कार्यकालमा एसियाली वित्तीय सङ्कट, सार्स महामारी र व्यापक जनप्रदर्शनको सामना गर्नुभएको थियो। अन्त्येष्टिस्थल हङकङ फ्युनरल होमबाहिर श्रद्धाञ्जलीस्वरूप फूलका माला राखिएका थिए। समारोहपछि चिनियाँ झन्डाले छोपिएको तुङको शव बाहिर ल्याइएको दृश्य हङकङका सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए।

समारोहस्थलमा सञ्चारकर्मीलाई प्रवेशको अनुमति दिइएको थिएन। चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य सी ताइफेङ, चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङ र हङकङका वर्तमान प्रमुख कार्यकारी जोन ली अन्त्येष्टिस्थलबाट सँगै बाहिरिनुभएको थियो। एक सहभागीका अनुसार समारोहमा करिब २०० जनालाई आमन्त्रण गरिएको थियो। अन्य व्यक्तिले हङकङका तीन स्थानमा बनाइएका श्रद्धाञ्जलीस्थलमा पुगेर तुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

तुङको निधनपछि चिनियाँ सरकारले उहाँलाई कम्युनिस्ट पार्टीका निकट मित्र तथा ‘एक देश, दुई प्रणाली’को कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिका रूपमा चित्रण गरेको थियो। यही व्यवस्थाअन्तर्गत हङकङ र मकाउको शासन सञ्चालन हुँदै आएको छ।

तुङले पद सम्हालेको केही समयपछि हङकङको अर्थतन्त्र एसियाली वित्तीय सङ्कटबाट प्रभावित भएको थियो। सन् २००३ मा सार्स महामारीका कारण हङकङमा करिब ३०० जनाको मृत्यु भएको थियो भने त्यसको अर्थतन्त्रमा समेत ठूलो असर परेको थियो। सोही वर्ष नागरिक स्वतन्त्रताका लागि खतरा मानिएको राष्ट्रिय सुरक्षा कानून लागू गर्ने सरकारको योजनाको विरोधमा करिब पाँच लाख मानिस सडकमा उत्रिएका थिए। व्यापक विरोधपछि सरकारले उक्त योजना स्थगित गरेको थियो।

स्वास्थ्यको कारण देखाउँदै तुङले सन् २००५ मा प्रमुख कार्यकारी पदबाट राजीनामा दिनुभएको थियो। सन् २००३ को प्रदर्शनले हङकङमा लोकतन्त्र समर्थक आन्दोलनको शृङ्खलालाई गति दिएको थियो, जुन सन् २०१९ मा उत्कर्षमा पुगेको थियो। त्यसपछि हङकङ सरकारले कडा कदम चालेको थियो भने सन् २०२० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेको थियो।

पदबाट हटेपछि तुङ चीनको सर्वोच्च राजनीतिक सल्लाहकार निकाय चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बन्नुभएको थियो। देशका लागि पुर्‍याएको योगदानको कदरस्वरूप सन् २०१९ मा राष्ट्रिय पदक तथा सम्मान प्राप्त गर्ने ४२ जनामध्ये तुङ पनि एक हुनुहुन्थ्यो। रासस/एपी

प्रतिक्रिया दिनुहोस्