नेकपाको बाढीपीडित ५० परिवारलाई ग्यास र पंखासहित राहत सामग्री
नुवाकोट,असोज ४ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ठूलोखोलाका करिब ५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी काठमाडौं कमिटी तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का प्रत्याशी उम्मेदवार निरज तामाङको संयुक्त पहलमा ग्यास, टेबल पंखालगायतका सामग्री पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य राधिका तामाङले बाढीपीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
राहत वितरण कार्यक्रममा बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टी काठमाडौंका संयोजक सञ्जय तामाङ, सहसंयोजक तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का प्रत्याशी उम्मेदवार निरज तामाङ, नेकपा टोखा नगर कमिटी संयोजक नवीन डंगोल, तत्कालीन माओवादी केन्द्र बेलकोटगढी नगरपालिका कमिटी सचिव शम्भु सिग्देललगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पार्टीका सबै तहका संगठनमा रहेका नेता तथा कार्यकर्तालाई अस्थायी आवास निर्माण र पुनःस्थापनाको काम अघि बढाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार बेलकोटगढी नगरपालिका–७ र ८ मा वाईसीएल नेपालले अस्थायी आवासका टहरा निर्माण गरिरहेको जनाइएको छ ।
यस क्रममा प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्ल, वाईसीएल नेपालका केन्द्रीय उपाध्यक्ष हरि ढकाललगायतले टहरा निर्माणमा निरन्तर खटिरहेको नुवाकोट वाईसीएल टोलीसँग भेटघाट गरी निर्माण कार्यको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

