असोज ७ गतेदेखि मनसुन थप सक्रिय हुने, वर्षाको जोखिम बढ्न सक्ने



काठमाडौं,असोज ५ । मौसम पूर्वानुमान महाशाखाले असोज ७ गतेदेखि नेपालमा मनसुन प्रणाली थप सक्रिय हुने जनाएको छ।
महाशाखाका अनुसार मौसम तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषण गर्दा मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। यसको प्रभावले नेपालमा मनसुनी गतिविधि केही बढेको महाशाखाले जनाएको छ।

हालसम्मको प्रक्षेपणअनुसार असोज ७ गते अर्थात् सेप्टेम्बर २३ आसपास ‘डिप्रेसन’ अर्थात् न्यून चापीय क्षेत्र थप बलियो भई दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ।

उक्त प्रणालीका कारण नेपालमा वर्षा गराउने गतिविधि बढ्न सक्ने महाशाखाले जनाएको छ। यद्यपि वर्षाको जोखिम र त्यसबाट हुन सक्ने सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाको भनाइ छ।

महाशाखाले मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना सार्वजनिक गर्दै जाने जनाएको छ। साथै, मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत अद्यावधिक सूचना हेर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्