पञ्चकन्यामा सुख्खा पहिरोले सडक अवरुद्ध, सवारी आवागमन पूर्णरूपमा बन्द
नुवाकोट,असोज ५ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। कविलास राष्ट्रिय माध्यमिक विद्यालयबाट करिब ३०० मिटर तल ठूलो सुख्खा पहिरो खसेपछि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द भएको हो।
पहिरोका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले तत्काल वैकल्पिक बाटो प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ। पञ्चकन्या गाउँपालिकाको कार्यालय हुँदै कुण्डला–घलेभञ्ज्याङतर्फको बाटो प्रयोग गरी यात्रा गर्न सकिने जनाइएको छ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने विषयमा आवश्यक पहल भइरहेको जनाइएको छ। अवरुद्ध सडकमा पहिरो थप खस्न सक्ने जोखिम रहेकाले पैदल यात्राका क्रममा समेत सावधानी अपनाउन आग्रह गरिएको छ।

