बाढीपीडित १०५ परिवारलाई विदुर नगरपालिकाको राहत सामग्री



नुवाकोट,असोज ५ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीका कारण परिवारका सदस्य गुमाएका तथा आवास पूर्ण रूपमा क्षति भएका विदुर नगरपालिका–४ का प्रभावित बासिन्दालाई राहत सामग्री प्रदान गरिएको छ।

बाढीपीडितलाई अस्थायी बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले विदुर नगरपालिकाले आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेअनुसार राहत वितरण गरिएको हो। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर–४ का वडाध्यक्ष नीलमबाबु ढुङ्गेललगायतको उपस्थितिमा वडाका १०५ बाढी प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।

प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि ग्यास सिलिन्डर, ग्यास चुल्होसहित भान्सामा आवश्यक सामग्री, ओढ्ने तथा अन्य बन्दोबस्तीका सामग्री र सरसफाइका सामग्री उपलब्ध गराइएको छ।

राहत सामग्री प्राप्त गरेसँगै प्रभावित परिवारले आश्रयस्थल छाडेर आफ्नै व्यवस्थापनमा अस्थायी बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष नीलमबाबु ढुङ्गेलले बताए। उनका अनुसार राहत सामग्री पाएपछि प्रभावित परिवारलाई दैनिक जीवनयापनमा केही सहज भएको छ।

विदुर नगरपालिकाले बाढी प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि कोठा भाडाबापतको नगद राहतसमेत उपलब्ध गराउने तयारी गरेको छ। नगरपालिकाले केही समयपछि कोठा भाडाका लागि आवश्यक नगद राहत उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्