बाढी गएको तीन सातापछि पनि नुवाकोटका बस्तीमा भग्नावशेष र दलदल, घर सरसफाइमा जुट्दै पीडित
नुवाकोट,असोज ५ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमार्फत त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटका चार स्थानीय तह प्रभावित बनाएको छ। बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रभावित भएका हुन्।
बाढीले ढुंगे, त्रिशूली, देवीघाट, वेत्रावती, सोले, तुप्चे, महादेवफाँटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण हजारौँ घर तथा संरचना क्षतिग्रस्त हुनुका साथै कतिपय घर पूर्ण रूपमा बगेर भग्नावशेषमा परिणत भएका छन्। बाढी गएको तीन साता बितिसक्दा पनि प्रभावित बस्तीमा भग्नावशेष र दलदले हिलोको अवस्था कायमै छ।
बाढी प्रभावित परिवारहरू अहिले आफ्ना क्षतिग्रस्त घर तथा संरचनाको सरसफाइमा जुटेका छन्। घरभित्र र वरपर जम्मा भएको लेदो, माटो र ढुंगा हटाउन भारी उपकरणसँगै स्वयंसेवकसमेत परिचालन भएका छन्। दैनिक रूपमा लेदो पन्छाउने र सरसफाइ गर्ने काम भइरहेको ढुंगेका बाढीपीडित राजेन्द्र धमलाले बताए।
बाढीले भग्नावशेषमा परिणत गरेको घरमा बाँकी रहेका सामान खोज्नसमेत पीडितहरू सक्रिय भएका छन्। बाढीले घरभित्र रहेका अधिकांश सामान बगाए पनि केही सामग्री सुरक्षित रहेको हुनसक्ने भन्दै उनीहरू जोखिम मोलेरै खोजीमा जुटेका छन्।
ढुंगेका अर्का बाढीपीडित नवराज उप्रेतीले घर खण्डहरजस्तै बने पनि बाँकी रहेका सामग्री सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको बताए। उनका अनुसार घर र आसपासमा जम्मा भएको लेदो हटाउँदै बाढीले छोपिएका सामग्री खोज्ने काम भइरहेको छ।
नुवाकोटका ढुंगे, त्रिशूली, देवीघाट, वेत्रावती, सोले, तुप्चे र महादेवफाँटलगायतका क्षेत्रमा अहिले पनि लेदो माटो र ढुंगा पन्छाउने काम जारी छ। भोटेकोशी बाढीपछि जम्मा भएको दलदले हिलो पूर्ण रूपमा नहट्दा प्रभावित क्षेत्रमा आवतजावत तथा सरसफाइमा समस्या भइरहेको पीडितहरू बताउँछन्।
सरसफाइ गरिरहेका बेला माथिबाट वर्षा हुँदा थप समस्या हुने गरेको बाढीपीडित सुनील डंगोलले बताए। वर्षाका कारण हटाइसकेको लेदो पुनः बगेर आउने तथा सरसफाइमा कठिनाइ हुने गरेको उनको भनाइ छ।
बाढी गएको तीन साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा दलदले हिलो, ढुंगा र भग्नावशेष हट्न सकेका छैनन्। हिलोका कारण भग्नावशेषमा परिणत भएका घरको सरसफाइमा चुनौती थपिएको छ भने प्रभावित बस्तीमा आवतजावत, सरसफाइ र पुनःस्थापनाको कामसमेत अझै कठिन बनेको छ।

