बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज



नुवाकोट,असोज ५ । अकल्पनीय बाढीले नुवाकोटको त्रिशूली नदीमाथिका पक्की तथा झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि मर्मत गर्न सकिने पुलको पुनःनिर्माण तथा मर्मत थालिएको छ। बाढीले बगाए पनि मर्मत गर्न सकिने अवस्थामा रहेका केही झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको हो।

नुवाकोटको तारकेश्वर गाउँपालिका–२ पिमलटार र बेलकोटगढी नगरपालिका–७ कल्चेडी जोड्ने झोलुङ्गे पुल मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। बाढीका कारण क्षतिग्रस्त पुल तीन सातापछि सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको स्थानीयवासी तथा पूर्वजनप्रतिनिधि नारायणप्रसाद खतिवडाले जानकारी दिए।

उनका अनुसार विदुर नगरपालिका–३ र बेलकोटगढी नगरपालिका–८ जोड्ने झोलुङ्गे पुलसमेत अहिले मर्मत भइरहेको छ। बाढीबाट क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने अन्य झोलुङ्गे पुलसमेत क्रमशः मर्मत गरी सञ्चालनमा ल्याइने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

यसैबीच, भीषण बाढीले त्रिदेशीय सडकमार्गअन्तर्गत गल्छी–कोल्पुखोला सडकखण्डमा समेत विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। सडकमा क्षति पुगेपछि रातमाटेको छविसे क्षेत्रमा नयाँ ट्र्याक खोलेर आवागमन सञ्चालनमा ल्याइएको छ।

सडकका अन्य कतिपय स्थानमा सडक भासिनुका साथै चिरा परेकाले आवागमन अझै जोखिमपूर्ण रहेको स्थानीयवासीले बताएका छन्। सडकको अवस्था कमजोर रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्