एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेस
ललितपुर,असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदन पेस भएपछि आजका लागि बैठक सम्पन्न भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकमा प्रतिवेदनमाथि छलफल भने भोलिबाट सुरु हुनेछ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख आचार्यका अनुसार भोलिदेखि प्रत्येक केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा तथा सुझाव राख्न तीन/तीन मिनेटको समय उपलब्ध गराइनेछ । बैठक भोलि बिहान ९ बजे सोही स्थानमा बस्नेछ ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको पहिलोपटक केन्द्रीय कमिटी बैठक बसेको हो । बैठक असोज ७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

