शुक्रबारदेखि सोमबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौं,असोज ६। आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले हिजो सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार शुक्रबारदेखि असोज ११ गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ। यसको प्रभावका कारण बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।
वर्षाका कारण ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
विशेषगरी हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली पदयात्रा तथा पर्वतारोहणमा जानेहरूले सम्बन्धित क्षेत्रको मौसमबारे जानकारी लिएर उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


