हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
काठमाडौँ,असोज ६ । प्रतिनिधिसभाको हिजो बसेको बैठकले हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनुभएको छ ।
सभामुख अर्यालका अनुसार समितिको पहिलो बैठकबाट अध्यक्ष चयन हुनेछ । समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को विस्तृत अध्ययन गर्नेछ ।
समितिले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण, भविष्यमा हुने जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशासहितको प्रतिवेदन तयार गर्ने सभामुख अर्यालले बताउनुभयो ।

