नुवाकोटमा बाढीबाट १ हजार ९ सय ५५ घरमा क्षति, १ हजार ४ सय ७२ घर पूर्णरुपमा ध्वस्त



नुवाकोट, असोज ६ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटका विभिन्न स्थानमा १ हजार ९ सय ५५ घरमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार प्रारम्भिक विवरणमा बाढीबाट १ हजार ४ सय ७२ घर पूर्णरुपमा क्षति भएका छन् भने ४ सय ८३ घरमा आंशिक क्षति पुगेको छ । बाढीले विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका नदी किनारका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको हो ।

बाढीले नदी किनारबाट ५० देखि ४ सय ५० मिटर आसपासका संरचनामा क्षति पुर्‍याएको जनाइएको छ । त्रिशूली, ढुंगे, वेत्रावती, सोले, तुप्चे, भैंसे, गेर्खु, बुहुनीबेँसी, देवीघाट, रातमाटे र कोल्पुटारलगायतका क्षेत्रमा बाढीको ठूलो प्रभाव परेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार विदुर नगरपालिका–१ मा ३ सय ९० घर पूर्ण र ९३ घर आंशिक क्षति भएका छन् । विदुर–३ मा ८० घर पूर्ण र २८ घर आंशिक, विदुर–४ मा ६० घर पूर्ण र २७ घर आंशिक तथा विदुर–५ मा २ सय ६२ घर पूर्ण र ७६ घर आंशिक क्षति भएका छन् ।

त्यस्तै विदुर–६ मा पाँच घर पूर्ण र चार घर आंशिक, विदुर–७ मा १ सय २० घर पूर्ण र ८० घर आंशिक, विदुर–८ मा पाँच घर पूर्ण, विदुर–९ मा ९० घर पूर्ण र ४० घर आंशिक तथा विदुर–१० मा २ सय ९० घर पूर्ण र २८ घर आंशिक क्षति भएका छन् ।

बेलकोटगढी नगरपालिका–५ मा १२ घर पूर्ण र ३८ घर आंशिक, वडा नम्बर ७ मा ५५ घर पूर्ण र २५ घर आंशिक तथा वडा नम्बर ८ मा ४८ घर पूर्ण र १७ घर आंशिक क्षति भएका छन् । किस्पाङ गाउँपालिका–५ मा ३४ घर पूर्णरुपमा क्षति भएका छन् ।

तारकेश्वर गाउँपालिका–२ मा तीन तथा वडा नम्बर ४ मा १८ घर पूर्णरुपमा क्षति भएका छन् । वडा नम्बर ४ मा थप २७ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीबाट नुवाकोटमा हालसम्म २ सय ३ जनाको शव निकालिएको र २ हजार ७ सय १६ जना अझै बेपत्ता रहेको प्रशासकीय अधिकृत नेपालले जानकारी दिनुभयो । बाढीपीडितले आफूहरूको तत्काल पुनःस्थापना तथा सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

यसैबीच, विदुर नगरपालिका–२ ले बाढी तथा पहिरोबाट मृत्यु भएका वडाका स्थायी बासिन्दाका परिवारलाई किरिया खर्चबापत प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । वडाध्यक्ष दीपक कायस्थको अध्यक्षतामा सोमबार बसेको पूर्ण बैठकले स्थायी बासिन्दाका मृतक परिवारलाई ५० हजार र अस्थायी बासिन्दाका मृतक परिवारलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

वडाध्यक्ष कायस्थका अनुसार बाढीबाट मृत्यु भएका वा बेपत्ता भएका व्यक्तिको किरिया गरिरहेका परिवारलाई वडाको बजेटबाट उक्त रकम तत्काल उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस्