बाढीले भत्काएका पुल पुनर्निर्माण तीव्र, ३३ झोलुङ्गे पुलको डिपिआर अन्तिम चरणमा
नुवाकोट, असोज ६ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले त्रिशूली नदीमाथिका पक्की तथा झोलुङ्गे पुल बगाएपछि नुवाकोटको पश्चिमी भेगमा तीन सातादेखि प्रभावित आवागमन सहज बनाउन पुल पुनर्निर्माण तथा वैकल्पिक संरचना निर्माणको काम अघि बढाइएको छ ।
सरकारले त्रिशूली नदीमा बाढीबाट क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुर्याएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार क्षतिग्रस्त पुलमध्ये केहीको मर्मत सम्पन्न भइसकेको छ भने केही अन्तिम चरणमा पुगेका छन् ।
बेलकोटगढी नगरपालिका–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मतको काम सम्पन्न भएको छ । पुलमा तार राखिएपछि आवतजावत सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको झोलुङ्गे पुल महाशाखाले लठ्ठा मिलाउने, स्टिल टेक र बिम जडानलगायतका काम गरिरहेको छ । जाली जडान गरेपछि दुई दिनभित्र पुलबाट पूर्णरुपमा आवतजावत खुलाउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मतसम्भार पनि सम्पन्न हुने चरणमा पुगेको छ । बेलकोटगढी–५ र धादिङको गल्छी–१ फोस्रेटार जोड्ने पुल, बेलकोटगढी–८ जिलिङ पुल, बेलकोटगढी–५ र गल्छी–१ स्थित केउरेनी–गहते पुल तथा बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार–जागाराम पुलको मर्मत अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै धादिङको सिद्धलेक–६ र गजुरी–१ जोड्ने कालिकास्थान पुल, सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने मालिङ्गा–मझुवाटार दोभान पुल, गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान पुल, गल्छी–२ र ४ जोड्ने चिरौंदी खोला पुल, शितलबजार–केउरेनीटार पुल तथा बेल्खु–भुतिया पुलको मर्मत पनि अन्तिम चरणमा पुगेको छ ।
गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे पुल, गल्छी–२ र ४ स्थित महादेवस्थान पुल तथा गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने धवादीघाट पुलको मर्मत कार्य भने जारी रहेको छ । बाँकी सात वटा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मतसमेत सुरु भएको र आवश्यक स्टिल पार्टपुर्जा खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
बाढीपछि तत्काल आवागमन सहज बनाउन नुवाकोटमा हालसम्म पाँच वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । विदुर नगरपालिका–१ इन्द्रायणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा तीन वटा तुइन तथा एक जीपलाइन जडान गरिएको छ । विदुर–५ देवीघाट र विदुर–३ फिर्केप तथा विदुर–४ सिमचौर रंगवारीदेखि विदुर–१२ गौरीबेँसी जोड्ने स्थानमा पनि एक–एक वटा तुइन सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्रिदेशीय मार्ग वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकअन्तर्गत देवीघाटमा बेलिब्रिज निर्माण भइसकेकाले आवागमन सञ्चालनमा आएको छ । सोही सडकखण्डको विदुर–वेत्रावती–कालिकास्थान सडकमा पर्ने नुवाकोट–रसुवा सीमा वेत्रावतीमा बेलिब्रिज निर्माणका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।
विदुर नगरपालिका–१ ढुंगे बजार र त्रिशूली बजार जोड्ने स्थानमा पनि बेलिब्रिज निर्माणका लागि आवश्यक काम सुरु भइसकेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । रसुवामा पनि गोसाइँकुण्ड गाउँपालिका–५ र ६ को स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड–६ र आमाछोदिङ्मो–१ हाकुबेँसी जोड्ने स्थानमा तुइन निर्माण गरिएको छ । थप तीन वटा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ पैरेबेँसी र रसुवाको उत्तरगया गाउँपालिका–४ जोड्ने स्थानमा पनि तुइन निर्माणका लागि सहमति जुटेको छ ।
यसैबीच, बाढीले क्षतिग्रस्त गल्छी–विदुर–वेत्रावती सडकखण्डमा आवागमन सञ्चालन गर्न ट्र्याक खोल्ने काम तीव्र पारिएको छ । विदुर नगरपालिका–१० स्थित उत्तरगया बोर्डिङ स्कुल नजिक ढुंगासहितको पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन नेपाली सेनाले विस्फोट गराएर सडक खुलाउने काम गरिरहेको प्रशासनले जनाएको छ ।
भैँसे हुँदै वेत्रावती जाने सडकमा रहेको आगिटारको चट्टानमा नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ब्लास्टिङसमेत गरेको छ । बाढीका कारण अवरुद्ध सडक खुलाउन विदुर नगरपालिकाले हेभी उपकरण र जनशक्ति परिचालन गरेको छ ।
सडकलाई सिधै वेत्रावतीसम्म सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिइएको छ । उक्त कार्यको प्रगति निरीक्षण गर्न विदुर नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुख तथा सडक योजना कार्यालयका प्रमुखलगायतको टोलीले स्थलगत अनुगमन गरेको छ।

