तनहुँको वन क्षेत्रबाट एक वर्षमा १७ करोडभन्दा बढीको कारोबार



दमौली (तनहुँ),असोज ६– तनहुँमा वनलाई आर्थिक गतिविधिको आधारका रूपमा विकास गर्न थालिएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत स्थानीय समुदायको आयआर्जन र रोजगारी प्रवद्र्धन गर्ने कार्यक्रम अघि बढाइएका छन् ।

डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपैयाँ बराबरको कारोबार भएको छ । वन संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताले आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको कार्यालय प्रमुख मनोज रानाभाटले बताउनुभयो ।

उहाँका अनुसार वनलाई संरक्षणको क्षेत्रका रूपमा मात्र नभई स्थानीय समुदायको आयआर्जन र रोजगारीको आधारका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । तनहुँमा १२२ वटा सामुदायिक वनमार्फत वन व्यवस्थापन तथा संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन् ।

सामुदायिक वनबाट प्राप्त आम्दानी सम्बन्धित वन उपभोक्ता समूहका सदस्यको हितमा खर्च गर्नुपर्ने व्यवस्था छ । वनबाट प्राप्त आम्दानीलाई वन संरक्षण तथा विकासका साथै सामाजिक र सामुदायिक हितका काममा परिचालन गर्नुपर्नेमा डिभिजन वन कार्यालयले जोड दिएको छ ।

८७ हजारभन्दा बढीलाई रोजगारी

वन क्षेत्रले जिल्लामा रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा वनसम्बन्धी विभिन्न गतिविधिमार्फत ८७ हजार ८४९ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

वन व्यवस्थापन, वन पैदावार सङ्कलन तथा उपयोग, पोल थिनिङ, वन डढेलो नियन्त्रण र वृक्षरोपणलगायतका काममा स्थानीय जनशक्ति परिचालन हुँदा रोजगारीका अवसर सिर्जना भएको कार्यालयले जनाएको छ ।

वन व्यवस्थापनअन्तर्गत आवश्यकताका आधारमा वन क्षेत्र सुधार, घना भएका क्षेत्रमा पोल थिनिङ तथा वनको उत्पादनशीलता बढाउने कामलाई प्राथमिकता दिइएको छ । वन क्षेत्रलाई दीर्घकालीन रूपमा उत्पादनशील र दिगो बनाउन वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापन आवश्यक रहेको प्रमुख रानाभाटले बताउनुभयो ।

१८ हेक्टरमा वृक्षरोपण

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा १८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । वन क्षेत्रको संरक्षण तथा विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो ।

वृक्षरोपणपछि बिरुवाको संरक्षण र हुर्काउने कार्यलाई समेत प्राथमिकता दिइएको छ । वन क्षेत्र विस्तारले भूक्षय नियन्त्रण, जलाधार संरक्षण, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने कार्यालयको अपेक्षा छ ।

सुक्खायाममा हुने वन डढेलो नियन्त्रणका लागि पनि कार्यालयले पूर्वतयारी, सचेतना तथा आवश्यकताअनुसार नियन्त्रणका गतिविधि सञ्चालन गरेको छ । वन डढेलोबाट वन, वन्यजन्तु तथा जैविक विविधतामा हुने क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको कार्यालयले जनाएको छ ।

वन क्षेत्र संरक्षणसँगै जिल्लामा वन्यजन्तु उद्धार तथा राहतका गतिविधिसमेत सञ्चालन भएका छन् । मानव बस्तीमा प्रवेश गरेका, घाइते अवस्थामा भेटिएका वा जोखिममा परेका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन तथा उपचारको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

तीन हेक्टरमा रुद्राक्षको पकेट क्षेत्र

वन तथा कृषि क्षेत्रलाई जोडेर स्थानीय आयआर्जन बढाउने उद्देश्यले तनहुँमा तीन हेक्टर क्षेत्रफलमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको छ ।

रुद्राक्ष खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सके स्थानीयस्तरमा आयआर्जनका अवसर सिर्जना हुनुका साथै वन तथा गैरकाष्ठ वन पैदावारको क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न सकिने प्रमुख रानाभाटले बताउनुभयो ।

यसैगरी, जिल्लामा आठ वटा नमुना सामुदायिक वन स्थापना गरिएको छ । नमुना सामुदायिक वनमार्फत वन संरक्षण, व्यवस्थापन, वन पैदावारको दिगो उपयोग तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्