कुटपिटबाट घाइते युवकको उपचारका क्रममा मृत्यु



नवलपरासी,असोज ६ । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार गत भदौ २९ गते साँझ करिब ६ः४० बजे मदिरा सेवन गरी स्थानीय ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका संजयको सुनिलसँग सामान्य विवाद भएको थियो। विवादपछि सुनिलले संजयलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट संजयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगत बगेको थियो। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।

मेडिकल कलेजमा उपचार भइरहेका संजयको आज बिहान करिब ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्