मुस्ताङमा सुरु भयो स्याउ टिप्ने र खाने उत्सव



मुस्ताङ,असोज ६ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ टिप्ने र खाने उत्सव सुरु भएको छ। कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले असोज ३ देखि १५ गतेसम्म उत्सव सञ्चालन गरेको हो।

हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने रसिला र स्वादिला स्याउको प्रवर्द्धनसँगै पर्यटकलाई स्याउ बगानमै पुगेर टिप्ने र खाने अवसर प्रदान गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको केन्द्र प्रमुख प्रकाश पन्थले बताउनुभयो।

उत्सव सुरु भएसँगै मार्फा क्षेत्रका स्याउ बगानमा पर्यटकको चहलपहल बढेको छ। स्याउ टिप्ने र बजारमा पठाउने मुख्य याम सुरु भइसकेकाले मुस्ताङ भ्रमणमा पुगेका पर्यटकका लागि बगानमै पुगेर स्याउ टिप्दै रमाउने अवसर बनेको छ।

स्याउ बारीमै पुगेर उत्सवमा सहभागी हुन चाहने पर्यटक तथा स्थानीयका लागि केन्द्रले प्रतिव्यक्ति रु २०० प्रवेश शुल्क तोकेको छ। स्याउ टिप्ने क्रममा हाँगा भाँचिएर बोटमा क्षति पुगेमा रु एक हजार जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको केन्द्र प्रमुख पन्थले जानकारी दिनुभयो।

विसं २०२३ मा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित विभिन्न बालीका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको छ। केन्द्रले स्याउ उत्पादनसँगै कृषि पर्यटन प्रवर्द्धनमा समेत जोड दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्