संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय राजनीतिक बहस सुरु
काठमाडौँ,असोज ७ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस मङ्गलबारदेखि सुरु भएको छ। यसपटकको महासभा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित छ।
उच्चस्तरीय बहसमा विश्वका सरकार प्रमुख तथा प्रतिनिधिहरूले विश्वभर फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, चरम गरिबी तथा जलवायु सङ्कटका कारण उत्पन्न मानवीय र पूर्वाधार क्षतिलगायत विषयमा छलफल गर्नेछन्।
उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले नेपालका तर्फबाट सहभागिता जनाएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य तथा नियोगका कर्मचारी सहभागी छन्।
महासभाको उच्चस्तरीय राजनीतिक बहसमा प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न सम्बोधन गर्ने कार्यतालिका रहेको छ।प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या, जलवायु न्याय तथा हानि–नोक्सानी कोषका विषयमा नेपालको धारणा प्रस्तुत हुने जनाइएको छ।
त्यसैगरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता र समावेशितालगायत विषयमा पनि नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्ना धारणा राख्ने जनाइएको छ।

