जेन्जी आन्दोलनका सहिद परिवार र गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा



काठमाडौँ,असोज ७ । सरकारले जेन्जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको ‘जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ।

मापदण्डअनुसार आधारभूत तहमा लाभग्राहीले प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ तथा कक्षा ६ देखि ८ सम्म नगदसहितको सुविधा स्थानीय तहमार्फत पाउने प्रस्ताव गरिएको छ।

माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० तथा कक्षा ११ र १२ मा पनि लाभग्राहीलाई नगदसहित पोशाक, पाठ्य तथा सिकाइ सामग्रीबापतको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।स्नातक तहसम्मको अध्ययनका लागि भने सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि मापदण्डमा राखिएको छ।

त्यस्तै, संस्थागत विद्यालयले प्रचलित कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा समेत लाभग्राहीलाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

लाभ लिन आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ। स्नातक तहका लागि भने सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात तथा अध्ययनरत संस्थाको सिफारिस पेस गर्नुपर्नेछ।

मन्त्रालयले तयार गरेको मापदण्डले जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्दै आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्