ट्रम्पको महासभा सम्बोधनमा इरान युद्धदेखि संयुक्त राष्ट्रसङ्घको भविष्यसम्मका विषय



न्युयोर्क,असोज ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दैगर्दा इरानसँगको युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र संयुक्त राष्ट्रसङ्घको भविष्यलगायत विषय अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेका छन्।

ट्रम्पले इरानविरुद्ध सुरु गरेको युद्धले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा प्रभाव पारेको छ। यसैबीच कृत्रिम बुद्धिमत्ताको सामाजिक प्रभावबारे चिन्ता बढिरहेको छ भने संयुक्त राष्ट्रसङ्घलाई दिइने अमेरिकी आर्थिक सहयोग कटौती गर्ने ट्रम्प प्रशासनको नीतिले संस्थाको भविष्यबारे बहस निम्त्याएको छ।

महासभामा सम्बोधनपछि ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, जापानकी प्रधानमन्त्री सानाए ताकाइची र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रका नेताहरूसँग पनि भेट गरी इरानसँगको युद्ध तथा साउदी अरबमाथि भएका इरान–समर्थित समूहका आक्रमणबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

इरानसँगको युद्ध महासभामा ट्रम्पको सम्बोधनको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ। गत वर्ष इरानका आणविक केन्द्रमा अमेरिकी आक्रमणपछि तेहरानको आणविक क्षमता ध्वस्त पारिएको ट्रम्पले दाबी गर्नुभएको थियो। तर युद्ध लम्बिँदै जाँदा होर्मुज जलसन्धिमार्फत हुने तेल आपूर्ति अझै युद्धअघिको स्तरमा फर्किएको छैन र ऊर्जा बजारमा अस्थिरता कायम रहेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य युद्ध सुरु हुनुअघिको करिब ७० अमेरिकी डलरबाट बढेर १०० डलर हाराहारी पुगेको छ।

इरान–समर्थित लडाकुको आक्रमणपछि साउदी अरबले एउटा प्रमुख तेल पाइपलाइन बन्द गरेको छ। यमनका हुथी विद्रोहीको गतिविधिका कारण लाल सागर र बाब अल–मन्दब जलसन्धिमा व्यावसायिक जहाजको आवागमनसमेत जोखिमपूर्ण बनेको छ।कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अमेरिका र इरानबीच रहेको ‘विश्वासको गहिरो खाडल’ कम गरी दुवै पक्षलाई पुनः वार्तामा ल्याउन मध्यस्थकर्ताले प्रयास गरिरहेको बताउनुभएको छ। युद्धको अन्त्य अन्ततः वार्ताबाटै हुने भएकाले त्यसअघि हुने क्षति तथा मानवीय क्षति न्यूनीकरण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ।

महासभाकै क्रममा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच आर्कटिक तथा उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा सहकार्य विस्तार गर्ने सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। उक्त सम्झौताले ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थितिको विस्तारको बाटो खोल्ने बताइएको छ। डेनमार्क र ग्रिनल्यान्डले भने सम्झौताले डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने बताएका छन्।

ट्रम्पले रुस–युक्रेन युद्धबारे पनि चर्चा गर्ने अपेक्षा गरिएको छ। उहाँले दुवै पक्षलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत गराउने प्रयास गरेको दाबी गर्नुभएको छ। तर रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण जारी रहेको छ। ट्रम्पले सोमबार युद्ध अन्त्य गर्नुपर्ने भन्दै पुनः असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

बेलायती प्रधानमन्त्री बर्नहमसँगको भेटमा होर्मुज जलसन्धिको सुरक्षा तथा साउदी अरबमाथि हुथी आक्रमण रोक्न सहयोग गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। जापानी प्रधानमन्त्री ताकाइचीसँगको भेटमा चीन–जापान सम्बन्ध तथा ताइवानसँग सम्बन्धित क्षेत्रीय तनावबारे पनि कुराकानी हुन सक्नेछ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेजसँग ट्रम्पको भेट भने दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ। यसरी यस वर्षको महासभामा ट्रम्पको उपस्थिति इरान युद्ध, ऊर्जा सुरक्षा, रुस–युक्रेन युद्ध, ग्रिनल्यान्ड सम्झौता, कृत्रिम बुद्धिमत्ताको प्रभाव र बदलिँदो अन्तर्राष्ट्रिय सम्बन्धका विषयले घेरिएको छ।

प्रतिक्रिया दिनुहोस्